प्रचण्डको प्रधानमन्त्रीको ‘ब्ल्यांक चेक’ देउवाबाट अस्वीकृत !

काठमाण्डु टुडे २०८२ वैशाख ५ गते १७:५८ मा प्रकाशित

काठमाण्डू, ५ वैशाख– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको प्रधानमन्त्रीको ‘ब्ल्याङ्क चेक’ अस्वीकृत भएको छ । हिजो बिहिबार कांग्रेस सभापति देउवाको निवास बुढानिकण्डमा बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले देउवालाई प्रधानमन्त्रीको लागि दिएको ‘ब्ल्याङ्क चेक’ अस्वीकृत भएको स्रोतले जानकारी दिएको छ ।

नेपाली राजनीतिमा अस्थिर नेताको छवि बनाएका माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर बिहिबार सभापति देउवा निवास बुढानिलकण्डमा बसेको प्रचण्डको उक्क प्रस्ताव अस्वीकृत गर्नुको साथै वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने निर्णय समेत गरेको छ ।

केहि दिन अधि मात्रै माओवादी अध्यक्ष प्रचण्डले नयाँ बर्षको अवसरमा नयाँ सरकार बन्ने दाबी सहित ठुलो दलको हिसाबले पनि कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने र कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएका थिए ।

तर सभापति देउवा निवास बुढानिलकण्डमा बसेको बैठकले भने प्रचण्डको सरकार परिर्वतन हुने अभिव्यक्तिको खड्न समेत गरेको छ । प्रचण्डले भन्ने बितिक्कै सरकार नढल्ने कांग्रेसको निश्कर्ष छ । कांग्रेस र एमालेबीचको गठबन्धनमा समस्या भइरहेको अवस्थामा सभापति देउवाले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक राखेर छलफल गरेका थिए ।

छलफलपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो । तर, उहाँ ‘प्रचण्ड’ ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’ सरकारले अझै राम्रो काम गर्नुपर्ने र गठबन्धन दलबीच अझै समन्वय र सन्तुलन हुनुपर्ने बैठकको सुझाव रहेको प्रवक्ता महतले जानकारी दिएका छन । ३० असार ०८१ मा बनेको कांग्रेस–एमाले गठबन्धन सरकार ढाल्न दाहाल निरन्तर लागिरहेका छन् । तर, वर्तमान सत्ता गठबन्धनमा कांग्रेसले हात नझिक्दासम्म केही हुने अवस्था छैन ।

यद्यपि कांग्रेसका एकथरी नेताहरू ओली सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।यसैलाई मौकाका रूपमा माओवादीले प्रयोग गर्ने रणनीति बनाएको छ । प्रचण्डले ओली सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको पटक–पटक बताइरहँदा सरकारलाई सफल बनाउन अग्रमोर्चामा देखिएका कांग्रेसका महामन्त्रीद्वय गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले सरकारप्रति खबरदारी गरिरहेका छन् । यसरी प्रमुख नेताहरूबाटै सरकार आलोचनाको घेरामा परेपछि गठबन्धनको आयु छोटिँदै गएको राजनीतिक वृत्तमा चर्चा छ ।

सत्तासाझेदार दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहभागी भएर सरकारको गति बढाउन खटिएका महामन्त्री थापाले भने, ‘सरकारमा बसेर भूमिका खेल्ने प्रस्ताव आउँदा सरकारमा सहभागी हुन्न, तर बाहिर बसेर यसलाई सफल बनाउने सन्दर्भमा वार फुटिङमा काम गर्छु भनेर व्यक्तिगत रूपमा जोखिम उठाउन तयार भएको हुँ ।

इकोनोमिक फ्रन्टमा काम गर्ने भनेर उत्साहका साथ धेरै कुरा बदल्न सकिन्छ भनेर काम गरेको हो । देशलाई चाहिएको कंकर्डको गति थियो, तर सरकार ट्याक्टरको गतिमा छ ।’उनीसँगै कांग्रेसका नेताहरू डा. शेखर कोइराला, महामन्त्री शर्मा, पूर्वमहामन्त्री डा. शशांक कोइराला, पूर्वमन्त्री एनपी साउद, डा. डिला संग्रौला, सांसद सुनिल शर्मा, राजेन्द्र बजगाईँलगायत दर्जनौ सांसदहरूले सरकारको कामप्रति सार्वजनिक रूपमै आलोचनामा उत्रिएपछि गठबन्धनभित्रको अवस्था असामान्य बन्दै गएको देखिन्छ ।

बिहीबार महामन्त्री शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने बताए । ‘वर्तमान सरकार कायमै रहने भएकोले सरकारको कार्यशैली बदलेर अघि बढ्नुपर्छ’, उनले भने, ‘यो सरकार कायम रहन्छ । सरकार चल्नुपर्छ तर, सरकारले आफ्नो कार्यशैली बदल्नुपर्छ ।’ महामन्त्री शर्माले प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री उसकै पार्टीको टिम हुनेगरी सहमत हुनुपर्ने प्रस्ताव समेत गरेका छन् ।

यद्यपी पछिल्लो समय बढ्दै गएको असन्तुष्टिलाई व्यवस्थापन गर्न प्रधानमन्त्री ओलीले मंगलबार देउवासँग संवाद गरेका थिए । त्यस लगत्तै बुधबार राती उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर छलफल गरेका प्रधानमन्त्री ओलीलाई छटपटी बढेको देखिन्छ ।

कांग्रेसभित्र सरकारविरुद्ध असन्तुष्टि बढिरहेको बेलामा सोमबार एमालेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसका केही नेताहरूप्रति असन्तुष्टि जनाए पनि सभापति देउवा प्रतिबद्ध रहेको सुनाएका थिए । देउवा र ओलीबीचको भेटपछि देउवाले पनि गठबन्धनमा कुनै समस्या नहुने बताएपछि प्रधानमन्त्री ओली ढुक्क भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us