निषेधित क्षेत्र तोड्दै आन्दोलन चर्काउने राप्रपा प्रयास

काठमाण्डु टुडे २०८२ वैशाख ५ गते १५:३१ मा प्रकाशित

काठमाण्डू, ५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको । हिजो (बिहीबार) बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने नीति लिएको हो ।

पर्सि, ७ वैशाखबाट सुरु हुने आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो दिन नै निषेधित क्षेत्र तोड्ने राप्रपाले निर्णय गरेको छ । ‘गत चैत १५ गते तिनकुनेमा राज्यबाट भएको दमनको घटनाको निष्पक्ष न्यायिक आयोग गठनको लागि दबाब दिन वैशाख ७ गते काठमाण्डूमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने ।’, सार्वजनिक वक्तव्यमा भनिएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ । तीनकुने घटनामा मिश्र र जबरा पक्राउ परेको भोलिपल्टै, १६ चैतबाट राप्रपाले देशभर आन्दोलनका कार्यक्रम गरिरहेको छ ।

२६ चैतमा राप्रपाले बल्खुमा सभा गरेरै आफ्ना नेताहरूलाई रिहाइ र उक्त दिनको घटनाको छानबिन गर्न आयोग गठन नगरिए सशक्त आन्दोलनको चेतावनी दिएको थियो । यसपछि केही दिन मौन रहेको राप्रपाले दोस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको हो । दोस्रो चरणको आन्दोलनमा पहिलो दिन नै निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us