सडक ढाकेर शिक्षकहरुको प्रदर्शन, यातायात प्रभावित

काठमाण्डु टुडे २०८२ वैशाख ३ गते १३:२२ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज (बुधबार) पनि काठमाण्डू प्रदर्शन जारी राखेका छन । उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा समेत अवरुद्ध भएको छ ।

उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो ।प्रदर्शनमा सहभागीहरुले ‘शिक्षा ऐन जारी गर,’ ‘शिक्षा ऐन विरोधीहरु होसियार’ लगायतका नारा लगाएका छन् ।

शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाण्डू केन्द्रित आन्दोलन गरिरहेका छन् ।मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेको थियो ।

साथै शिक्षकका माग समेत सम्बोधन गर्न भन्दै वैशाख १२ देखि संसदको बर्खे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो । तर सरकारबाट पटक–पटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासंघले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ ।

आन्दोलनको नेतृत्व गरिरहेको महासंघले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरुलाई काठमाण्डू केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us