बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः गगन थापा

काठमाण्डु टुडे २०८२ वैशाख २ गते १४:२६ मा प्रकाशित

काठमाण्डू, २ वैशाख– कांग्रेस महामन्त्री गगन थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका छन ।

आज (मंगलबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हु्न । महामन्त्री थापाले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या विचौलियाका कारणले आएको बताएका छन । विचौलियाहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको उनले बताए ।

‘प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो । हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । विचौलियाहरू म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ,’ उनले भने, ‘विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो ।

नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भएपनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको पनि बताएका छन ।

उनले भने, ‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की । गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्नेकुरा हुन्थ्यो । अब अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था बन्ला की आउने भनेको हामी कहाँनेर पुग्यौँ ?,’ महामन्त्री थापाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us