निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छः गृहमन्त्री

काठमाण्डु टुडे २०८२ वैशाख २ गते १३:१४ मा प्रकाशित

काठमाण्डू, २ वैशाख– गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी बालीका निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद्‍‍मा प्रश्न दर्ता गरेर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीलाई प्रश्न गरेकी थिइन ।

जवाफमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको प्रतिनिक्रया दिएका हुन । सांसद गौतमको प्रश्न छ– कञ्चनपुरकै गृहमन्त्री हुनुहुन्छ, तर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन सकेको छैन, आफ्नै निर्वाचन क्षेत्रको जघन्य अपराधको सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन तपाईंलाई गृहमन्त्रीको हैसियतमा के ले रोकेको छ ?’

यो विषयलाई सरकारले प्राथमिकतामा नराखेको आशंका सांसद गौतमको छ । उनी अगाडि सोध्छिन्, ‘न्याय दिलाउने जिम्मेवारीबाट सरकार पन्छिन खोजेको हो ? निर्मला पन्तको हत्या प्रकरणलाई अन्त्य गरेर दोषीलाई कानुनी कठघरामा उभ्याउने साहस कहिले देखाउनुहुन्छ, मन्त्रीज्यू ?’ जवाफमा गृहमन्त्री लेखक लेख्छन्, ‘गृह मन्त्रालय र अन्तर्गतका संयन्त्रहरू तथ्यमा आधारित रहेर निस्पक्षमूलकढंगबाट अनुसन्धान गर्ने गरी परिचालन गरिएको छ ।

त्यसैले प्रस्तुत अपराधमा सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको छ ।’ १० साउन २०७५ मा कञ्चनपुरको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबिन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us