शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु, ३ जना पक्राउ

काठमाण्डु टुडे २०८२ वैशाख १ गते १७:३५ मा प्रकाशित

काठमाण्डू, १ वैशाख– जंगली जनावरको शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ भने प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका–९ गब्दहवा बस्ने ३४ वर्षीय रामबहादुर थारू, सोही ठाउँका ३६ वर्षीय कालु भनिने राम थारू र प्रवेश थारू रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरु जना शिकार खेल्न गएका थिए ।

शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली लागेर गब्दहवाकै २८ वर्षीय समुन्द्र गाहा मगरको मृत्यु भएको कपिलवस्तुका एसपी निरन्जदत्त भट्टले जानकारी दिए । ३० चैतको दिउँसो उनीहरु शिकार खेल्न बुद्ध यशोधरा सामुदायिक वनमा गएका थिए । यता गाहा मगर पनि बाख्रा चराउन र शिकार खेल्न भनेर गएको प्रहरीको भनाइ छ ।

प्रमेश भने बन्दुक लुकाउन सहयोग गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ । शिकार खेल्न गएकाहरुले चलाएको गोली लागेर गाहा मगर घाइते भएका थिए । उनलाई उपचारका लागि शिकार खेल्न गएका दुई जनाले भैरहवा मेडिकल कलेजमा ल्याएका थिए ।

अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरविरुद्ध ज्यान कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरुबाट दुई थान भरुवा बन्दुक समेत बरामद गरीएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us