
काठमाण्डू, २९ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाण्डू जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालत स्रोतले जानकारी दिएको छ । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि प्रहरीले १२ दिनकै म्याद मागेको छ ।
प्रसाईंलाई प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो ।
यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो । उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि प्रहरीले समय समय मागेको हो ।