चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर, ६० देशलाई तनाव

काठमाण्डु टुडे २०८१ चैत २६ गते १०:२३ मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बस्तुमाथि थप अतिरिक्त भन्सार शुल्कको घोषणा गरेपछि फेरी विश्व बजारमा गिरावट सुरु भएको छ ।

मंगलबार पहिलो प्रहरमा वित्तीय बजारमा भारी गिरावट आएकामा ह्वाइट हाउसले चीनमाथि थप ट्यारिफको पुष्टि गर्नासाथ फेरि बजार ओरालो लागेको हो । ह्वाइट हाउसले केही चिनियाँ बस्तुमाथि १०४ प्रतिशत ट्यारिफ लगाएको पुष्टि गरेको बीबीसीले जनाएको छ । यो ट्यारिफको पुष्टिअघि ट्रम्पले आफ्नो योजनाको उच्च प्रशंसा गरेका थिए ।

उनले आफ्नो ‘विस्फोटक’ ट्यारिफको प्रशंसा गर्दै अमेरिकाको लागि यो नै उचित रहेको प्रतिक्रिया दिए । बेइजिङले प्रतिशोधात्मक भन्सार शुल्क फिर्ता लिन ट्रम्पले दिएको समय सीमा उल्लंघन गरेको आरोप वासिंटनले लगाएको छ ।

वुधबार रातीदेखि सर्बत्र लागू हुने ट्रम्पको आयातकर योजनाका कारण ६० मुलुक प्रभावित हुने बताइएको छ । केहीले अमेरिकी ट्यारिफको स्वागत गरेपनि अधिकांश मन्दीको त्रासले भयभित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफ्ना समाचारमा उल्लेख गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us