
काठमाण्डू, २४ चैत– नेपालले युथ ओडीआई सिरिज अफगानिस्तानलाई सुम्पेको छ । आज (आइतबार) काठमाण्डूको मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा एक रनले पराजित भएसँगै नेपालले सिरिज अफगानिस्तानलाई सुम्पेको हो ।
पहिलो खेलमा नेपाल १३० रनले पराजित भएको थियो । दोस्रो खेलमा अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ३ बलमा १६७ रनमा समेटियो । नेपाललाई जितका लागि ३ बलमा ३ रन आवश्यक रहेको थियो ।
एक विकेट हातमा थियो । अन्तिम बल नो–बल भए पनि दर्श सोनार रनआउट हुँदा एक रनको नमीठो हार व्यहोर्नुपर्यो । सोनार ३१ बलमा २१ रन बनाएर आउट भए । नेपालका लागि ओपनर साहिल पटेलले ६४, अभिषेक तिवारीले २४, निरजकुमार यादवले १५ रन र कप्तान नरेन भट्टलृ १३ रन बनाउन सफल भएका थिए ।
बलिङमा अफगानिस्तानका वाहिदुल्लाह जार्डान, जइतुल्लाह साहीन र हफिज जार्डानले समान २–२ विकेट लिन सफल भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान १६८ रनमा समेटिएको थियो । अफगानिस्तानका लागि कप्तान मेहबुब खानले सर्वाधिक ५८ रन बनाएका थिए । बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिएका थिए ।