ज्ञानेन्द्रलाई राप्रपाको आग्रहः दुर्गा प्रसाईंजस्तो हुल्लडबाजका लागि ‘महाराज’को ढोका खुला हुनुभएन

काठमाण्डु टुडे २०८१ फागुन २९ गते १३:३४ मा प्रकाशित

काठमाण्डू, २९ फागुन–राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दुर्गा प्रसाईंको प्रतिवादमा उत्रन हच्किएको छ ।

प्रसाईंले केही दिनयता राप्रपा र त्यसको नेतृत्वविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । उनले नेपालबाट राजसंस्था र सनाहत हिन्दू धर्म फालिनुमा राप्रपा नेतृत्वको भूमिका रहेको आरोप लगाएका छन् ।

त्यति मात्र होइन, प्रसाईले राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई फ्रड र अवसरवादीको संज्ञा दिएका छन् ।
गणतन्त्रको भोज र सांसदको भत्ता खाइरहेका राप्रपाका नेताहरु तीन वर्षदेखि घर, परिवार र ज्यानै जोखिममा राखेर आफूले राजतजन्त्रको पक्षमा माहोल बनाएपछि ‘धमिलो पानीमा माछा मार्न’ २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा आफूले आयोजना गरेको कार्यक्रममा मिसिन आएको समेत दाबी प्रसाईंको छ ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा र आफ्नो सचिवालयको विश्वास नगर्न आग्रह भन्दै भड्काएका छन् ।
‘सबैभन्दा ठूलो ‘फ्रड’ काम गरेको राप्रपाले हो । राप्रपा भन्ने पार्टी र त्यसका अध्यक्ष कमल थापा र त्यतिखेरका सांसद राजेन्द्र लिङदेनले साइन गरेको थिएन भने न राजतन्त्र जान्थ्यो, न हिन्दूधर्म जान्थ्यो । खोलामा लगेर तिलाञ्जली दिएर बगाउने राजसंस्था र हिन्दू अधिराज्यलाई अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई, अनि के भइराछ कुरो भन्दा धमिलो पानीमा माछा मार्नलाई हामीले गरेको’, उनले भनेका थिए ।

प्रसाईंले साँच्चै राजा फर्काउन चाहेको भए सांसदबाट राजीनामा दिएर सडकमा आउन राप्रपाका सांसदहरुलाई चेतावनी दिए । ‘हिजो राजसंस्था बिदा गर्ने आफैं, यूएसएडको पैसा खाएर धर्मनिरपेक्षता कायम गर्ने आफैं । अनि मैले तीन वर्षदेखि माहोल बनाएपछि ढोक्सा थाप्न र फोटो खिचाउन आउन अप्ठेरो पनि लाग्दोरहेनछ मान्छेलाई ? ’, उनले भने, ‘आउने भए सांसद् पद राजीनामा गरेर आउनुस् । ताक परे तिवारी नत्र गोतामे । भए हाइहाल्छ, आफ्नो फुली छँदैछ, आफ्नो लागो छँदैछ । तपाईंहरुले मलाई नपढेको मुर्ख भन्ठानेको होला । म कलियुगको युनिभर्सिटी हुँ ।’
राप्रपाले आफूलाई १ चैतदेखि राजसंस्था पुनस्र्थापनाका लागि हुने आन्दोलनमा आउन आग्रह गरेको तर, आफू नजाने बताए । उनले आफू राप्रपाको गोठालो नभएको प्रतिक्रिया प्रसाईंले दिए ।
चैत १ गतेदेखि आन्दोलन गरिहालौं । दुर्गा प्रसाई आउनुप९यो, हामीसँग मिल्नुपर्यो रे । उहाँहरुले के सोच्नुभएछ भने मलाई त गोठालो जस्तो सोच्नुभएको छ’, प्रसाईं भन्छन् ।
प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि राप्रपा वा आफूमध्ये एक रोज्न आग्रह गरे । राजसंस्था प्राप्तिको लडाईंमा सारथी हुन आग्रह गर्दै आफू अर्जुनको भूमिकामा रहेर बाण चलाउने बताए । विगतमा पनि ज्ञानेन्द्रलाई दरबारिया र सचिवालयले सिध्याएको र अहिले पनि त्यही मानिसहरु सिध्याउन लागिपरेको बताए । ‘राजाले पनि धैर्य भएर सोच्नुहोला । तपाईं यो लडाईंमा साथरी भएर रथ हाक्नुस् । म अर्जुनको भूमिकामा रहेर बँण चलाउँछु । दुर्गा प्रसाईजत्तिको कलियुगको अर्जुन तपाईले अर्को भेटाउनुहुँदैन’, प्रसाईंले भने, ‘गणतन्त्रमा जाने, भोज खाने, खड्गप्रसाद ओलीसँग फोन गर्ने अनि माहोल बन्यो भने परिहाल्छ कि भनेर ढोक्सा थाप्ने । तपार्ईंलाई हिजो पनि त्यही दरबारभित्रका मान्छेहरुले सिध्याएको हो । तपाईंको सचिवालयले सिध्याएको हो । आज पनि सचिवालयले सिध्याउँदैछ । भोलि पनि सचिवालयले सिध्याउँदैछ । तपाईं होसिया हुनुस् । तपाईंको सचिवालय ठीक छैन ।’

तर, प्रसाईको अभिव्यक्तिबारे राप्रपा भने मौन छ । राप्रपाका एक नेतालाई काठमाण्डूटूडेले प्रसाईंको अभिव्यक्तिबारे के प्रतिक्रिया छ भनेर सोधेको थियो । जवाफमा ती नेताले प्रसाईंको आरोपको खण्डन जरुरी नरहेको बताए । विगतमा केपी ओली र प्रचण्डसँग नजिक भएर उनीहरुलाई नै डुबाएका प्रसाईंले आफूहरुलाई पनि त्यस्तै गर्न सक्नेमा सचेत रहेको उनको भनाइ थियो । ‘उहाँको विगत जता गयो त्यतै भ्वाङ पार्ने खालको छ । अहिले राजसंस्थाको पक्षमा जनमत बढेका बेला त्यसलाई बिगार्ने उद्देश्यले अन्टसन्ट बोल्दै हिंड्नुभएको छ । उहाँको बारेमा टिप्पणी गर्नु भनेको आफैं गिर्नु हो ।’
तर, पूर्वराजा ज्ञानेन्द्र दुर्गा प्रसार्ईजस्ता डुल्लडबाजसँग सचेत हुनुपर्ने उनको सुझाव छ । ‘दुर्गा प्रसाईं एक हुल्लडबाज हुन् । उनको बलमा राजतन्त्र आउने पनि होइन’, उनी भन्छन्, ‘यसबारेमा महाराजले सोध्नुपर्छ । राजाको ढोका दुर्गा प्रसाईंका लागि खुल्नु हुँदैन भन्ने हाम्रो मान्यता छ ।’
यद्यपि प्रसाईं राजतन्त्रको वकालत गर्न भने स्वतन्त्र रहेको ती नेताले भने । राप्रपाका नेता कार्यकर्ताको प्रयासमा मात्र राजसंस्था नफर्कने भएकाले सबै एकताबद्ध भएर लाग्नुपर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us