प्रतिनिधिसभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै कांग्रेसद्वारा सर्वोच्चमा रिट

काठमाण्डु टुडे २०८३ असार २५ गते १३:२८ मा प्रकाशित

काठमाण्डू, २५ असार– प्रतिपक्षी दल कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बाझिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर गएका छन् ।

रिट निवेदनमा राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त, राष्ट्रिय सभा संसदीय दलका सचेतक पदमबहादुर परियार, प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले निवेदकका रूपमा हस्ताक्षर गरेका छन् । उनीहरूको तर्फबाट अधिवक्ता अमृतकुमार केसी वारिस रहेका छन् ।

रिटमा संघीय संसद सचिवालय, प्रतिनिधि सभा, सभामुख डीपी अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका संयोजक गणेश पराजुलीलाई विपक्षी बनाइएको छ । निवेदकहरूले प्रतिनिधि सभाले २०८३ जेठ १७ गते पारित गरेको प्रतिनिधि सभा नियमावली, २०८३ को प्रस्तावना, नियम १४० (११) र नियम २५९ संविधानविपरीत रहेको दाबी गरेका छन् ।

उनीहरूले ती व्यवस्था नेपालको संविधानले परिकल्पना गरेको दुई सदनात्मक व्यवस्थापिकाको सिद्धान्तविपरीत रहेको तथा संविधानको धारा २७४ र धारा १०४ (१) सँग बाझिएको उल्लेख गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us