दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन्ः सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ फागुन २८ गते १४:५६ मा प्रकाशित

काठमाण्डू, २८ फागुन– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो विकासका लागि पुराना ऐन कानुनका साथै कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन ।

आज (बुधबार) नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाण्डूमा आयोजना गरेको टेलिकम उद्योग पुनरुत्थान कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन ।

सञ्चारमन्त्री गुरुङले टेलिकम उद्योग पुनरुथानका लागि प्रविधिको विकाससँग अघि बढ्नुपर्ने र पुराना ऐन कानुन परिमार्जन हुने पनि बताएका छन ।

प्रविधिको विकाससँगै टेलिकम क्षेत्रको विकास गर्न नयाँ ढंगको जनशक्ति आवश्यक रहेको उनको भनाई थियो । मन्त्री गुरुङले आफू मन्त्री भए पनि प्रविधिको क्षेत्रमा विकास गर्न खाजेपनि सोचेजस्तो काम हुन नसकेको पनि बताएका छन ।

उनले विधेयकहरू लामो समय अड्किदा समयमा नै कानुन निर्माण हुन नसकेकाले संसद्ले नै टाइमलाइन तोकेर विधेयक अघि बढाउनुपर्ने पनि बताएका छन । विधेयक पास गर्न ५–६ वर्ष लाग्ने देखिएकाले सुशासन तथा आर्थिक विकासका लागि अत्यावश्यक कानुन बनाउन अध्यादेश ल्याउनुपरेको पनि उनले बताएका छन ।

मन्त्री गुरुङले समाजलाई विभाजित गर्न खोज्ने कामलाई नियन्त्रण गर्न सामाजिक विधेयक आवश्यक परेको पनि बताएका छन । सञ्चारमन्त्री गुरुङले दुर्गा प्रसाईँजस्ता व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दै धार्मिक तथा सामाजिक सद्भाव भड्काउने काम गरिरहेको आरोप समेत लगाएका छन ।

त्यस्तै उनले दूर सञ्चार ऐनको मस्यौदा तयार भई संशोधनको अन्तिम चरणमा पुगेको जानकारी दिँदै सबैको छलफल र सुझावपछि सदनमा पेस गर्ने समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us