मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित

काठमाण्डु टुडे २०८१ फागुन २८ गते ११:५८ मा प्रकाशित

काठमाण्डू, २८ फागुन– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि स्थगित भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रुपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए ।

उनले सरकारले सदनलाई र जनप्रतिनिधिहरुलाई हेपिरहेको समेत दाबी गरे । त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका हुन् । संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us