शंकर पोखरेलको भारतीय नेतालाई सुझावः हिन्दू राजा चाहिएको भए उतै बनाउनु

काठमाण्डु टुडे २०८१ फागुन २८ गते ८:४३ मा प्रकाशित

काठमाण्डू, २८ फागुन– एमाले महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दू राजा बनाउन भारतले दबाब दिएको खुलासा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै पोखरेलले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरुले ज्ञानेन्द्रलाई राजा बनाउनुपर्ने अभिव्यक्ति दिइरहेको बताए ।

उनले नेपालमा हिन्दू राजाको पक्षमा बोल्ने भारतीयहरुलाई भारतमै हिन्दू राजा घोषणा गर्न सुझाए । ‘अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरू नेपालमा हिन्दूराजाको आवश्यकताको चर्चा गरिरहेका छन् । विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरू अस्तित्वमा रहेको बताउँदै हिन्दुहरूको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन् । नेपालको पूर्वराजालाई त्यो सम्मान दिनु उचित हुने बताइरहेका छन्’, पोखरेलले भनेका छन्, ‘उनीहरूको चिन्ता उनीहरूले भन्ने गरेजस्तै हो भने भारतमा नै ती हिन्दू धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनस्स्थापित गर्दा भयो नि । तर त्यो सम्भव छैन । किनकि भारतीय संविधानले त्यसो गर्न दिँदैन । नेपालको हकमा पनि त्यस्तै त हो नि, हैन र ?’

ब्रिटिसहरूले भारतमा उपनिवेश चलाइरहँदा ५ सय ५० भन्दा बढी रियासतहरूलाई आफ्नो अधीनमा राखेको र तिनीहरूमा अधिकांशमा राजा, नवाव र महाराजाहरू रहेको स्मरण पोखरेलले गरे ।

त्यसमध्ये अधिकांश राजा रहेको र जसलाई विष्णुको अवतारका रूपमा मान्ने संस्कृति भएको उल्लेख गरे । सरदार वल्लवभाइ पटेलले भारतीय स्वतन्त्रतापछि ती रियासतहरूलाई अन्त्य गरेको र कतिपयले अधिनस्थता अस्वीकार गरेपछि बल प्रयोगबाट भारतमा विलय गरिएको पोखरेलले सम्झाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us