पूर्वराजा ज्ञानेन्द्रलाई दुर्गा प्रसाईंको अप्ठेरो प्रश्नः मलाई रोज्ने कि गणतन्त्रको भोज खाने ‘फ्रड’ राप्रपा ?

काठमाण्डु टुडे २०८१ फागुन २७ गते २०:०० मा प्रकाशित

काठमाण्डू, २७ फागुन– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा र आफ्नो सचिवालयको विश्वास नगर्न आग्रह गरेका छन् ।

मंगलबार युटुबरहरुसँग कुरा गर्दै प्रसाईंले कमल थापा र राजेन्द्र लिङदेनका कारण हिन्दू धर्म र राजसंस्था गुमेको नबिर्सन पूर्वराजालाई आग्रह गरे ।

संविधान जारी गर्नुअघि तत्कालीन राप्रपा अध्यक्ष कमल थापा र राजेन्द्र लिङदेनको गलत भूमिकाका कारण राजतन्त्र र हिन्दूधर्म गएको उनले आरोप लगाए ।

‘सबैभन्दा ठूलो ‘फ्रड’ काम गरेको राप्रपाले हो । राप्रपा भन्ने पार्टी र त्यसका अध्यक्ष कमल थापा र त्यतिखेरका सांसद राजेन्द्र लिङदेनले साइन गरेको थिएन भने न राजतन्त्र जान्थ्यो, न हिन्दूधर्म जान्थ्यो । खोलामा लगेर तिलाञ्जली दिएर बगाउने राजसंस्था र हिन्दू अधिराज्यलाई अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई, अनि के भइराछ कुरो भन्दा धमिलो पानीमा माछा मार्नलाई हामीले गरेको’, उनले भने ।

प्रसाईंले गणतन्त्रमा सांसद् हुने र भोज खानेहरु आफूले विगत तीन वर्षदेखि बनाएको माहोलमा मिसिन आएको बताए । उनले पोखराबाट काठमाण्डू आउँदा पूर्वराजाको स्वागतमा २५ वैशाखमा आफूले आयोजना गरेको स्वागत कार्यक्रममा आएर राप्रपाका नेताहरुले फोटो खिचेको टिप्पणी गरे ।

उनले साँच्चै राजा फर्काउन चाहेको भए सांसदबाट राजीनामा दिएर सडकमा आउन राप्रपाका सांसदहरुलाई चेतावनी दिए । ‘हिजो राजसंस्था बिदा गर्ने आफैं, यूएसएडको पैसा खाएर धर्मनिरपेक्षता कायम गर्ने आफैं । अनि मैले तीन वर्षदेखि माहोल बनाएपछि ढोक्सा थाप्न र फोटो खिचाउन आउन अप्ठेरो पनि लाग्दोरहेनछ मान्छेलाई ?’, उनले भने, ‘आउने भए सांसद् पद राजीनामा गरेर आउनुस् । ताक परे तिवारी नत्र गोतामे । भए हाइहाल्छ, आफ्नो फुली छँदैछ, आफ्नो लागो छँदैछ । तपाईंहरुले मलाई नपढेको मुर्ख भन्ठानेको होला । म कलियुगको युनिभर्सिटी हुँ ।’

उनले मौका मिल्नासाथ गणतन्त्रको भोज खाएर सडकमा जाने र राजतन्त्रको वकालत गर्ने मानिस नभएको उल्लेख गरे । ‘अरु सांसदहरुले जस्तो गणतन्त्रको भोज खाएर राजतन्त्रको वकालत गर्दैन दुर्गा प्रसाईंले । गणतन्त्रको भोज खाने, राजतन्त्रको वकालत गर्ने जस्तो नाटक गर्दिन म’, उनले भने । आफूले राजालाई हातमा समातेर राजदरबार छिराउँछौं त्यतिबेला सकैले रोक्न सक्दैन भन्दा उनको सचिवालयले रोकेको भन्दै आक्रोश पोखे ।

प्रसाईंले आगामी १ चैतदेखि राजसंस्था पुर्नस्र्थापनाका लागि आन्दोलन गर्ने भन्दै राप्रपाले आफूले बोलाएको बताए । तर, आफू कुनै पार्टी विशेषको गोठालो नभएको टिप्पणी उनको छ । ‘चैत १ गतेदेखि आन्दोलन गरिहालौं । दुर्गा प्रसाई आउनुप-यो, हामीसँग मिल्नुपर्यो रे । उहाँहरुले के सोच्नुभएछ भने मलाई त गोठालो जस्तो सोच्नुभएको छ । मैले त डाक्टर, भीसी, चार्टर अकाउण्टेनसहित ५ हजार जनालाई रोजगारी दिएको छु’, उनले भने, ‘म संगत गर्दा राजाको गर्छु । आन्दोलन गर्नुपर्छ भने राजासँग मिलेर गर्छु । गोठालासित मिलेर म सडकमा गएर नाटक देखाउँदिन । यो सबैलाई हेक्का रहोस् । म कसैको गोठालो होइन ।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि राप्रपा वा आफूमध्ये एक रोज्न आग्रह गरे । उनले राजसंस्था प्राप्तिको लडाईंमा सारथी हुन आग्रह गर्दै आफू अर्जुनको भूमिकामा रहेर बाण चलाउने बताए । विगतमा पनि ज्ञानेन्द्रलाई दरबारिया र सचिवालयले सिध्याएको र अहिले पनि त्यही मानिसहरु सिध्याउन लागिपरेको बताए । ‘राजाले पनि धैर्य भएर सोच्नुहोला । तपाईं यो लडाईंमा साथरी भएर रथ हाक्नुस् । म अर्जुनको भूमिकामा रहेर बँण चलाउँछु । दुर्गा प्रसाईजत्तिको कलियुगको अर्जुन तपाईले अर्को भेटाउनुहुँदैन’, प्रसाईंले भने, ‘गणतन्त्रमा जाने, भोज खाने, खड्गप्रसाद ओलीसँग फोन गर्ने अनि माहोल बन्यो भने परिहाल्छ कि भनेर ढोक्सा थाप्ने । तपार्ईंलाई हिजो पनि त्यही दरबारभित्रका मान्छेहरुले सिध्याएको हो । तपाईंको सचिवालयले सिध्याएको हो । आज पनि सचिवालयले सिध्याउँदैछ । भोलि पनि सचिवालयले सिध्याउँदैछ । तपाईं होसिया हुनुस् । तपाईंको सचिवालय ठीक छैन ।’

उनले आफूलाई पूर्वराजा ज्ञानेन्द्रबाट केही पाउँछु कि भन्ने लोभ नभएको दाबी पनि गरे । प्रधानमन्त्री बन्नका दागि राजाले नभई जनताले बनाउने उनको जिकिर थियो । ‘मलाइ लोभ छैन । तपाईंले के दिनुहुन्छ मलाई सरोकार छैन । यो देशमा प्रधानमन्त्री बन्नुप¥यो भनेदेखि जनताले बनाउने हो, राजाले होइन’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us