जनता नै राज्य शक्तिका श्रोत हुन्ः राष्ट्रपति

काठमाण्डु टुडे २०८१ फागुन ७ गते ६:५९ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।

७५औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई प्रजातन्त्र दिवसले स्थापित गरेको बताए ।

‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा शहीदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित छ’, पौडेलले सन्देशमा भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । २००७ को क्रान्तिको जगमा नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौं ।’

राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अंगीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरे ।

‘लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चिय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिको जगमा हाम्रो भविष्यको सुखद् यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु’, पौडेलले भनेका छन् ।

पौडेलले प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुपति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । यस्तै उनले आन्दोलनलाई पथप्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति पनि सम्मान एवं श्रद्धा प्रकट गररेका छन् ।
राष्ट्रपतिले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने अपेक्षा गरेका छन् ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना राष्ट्रपतिले व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us