काठमाण्डू, २१ माघ– राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
उनले विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
‘माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा पुजिन्छ ।
आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको छ । सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ’, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन, ‘नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने विवाह, व्रतबन्ध आदि जस्ता शुभ कार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ ।’
उनले वसन्त श्रवण र सरस्वती पूजा केबल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व पनि हो भन्दै यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबिच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं संवर्धन गर्दै सबै नेपालीमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी कामना गरेका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
सन्देशमा उनले विद्या, ज्ञान, बुद्धि, कला र सङ्गीतको प्रतीकका रूपमा देवी सरस्वतीको पूजाअर्चना गर्ने हिन्दु विधान र पौराणिक परम्परा रहिआएको बताएका छन् ।