काठमाण्डू, २० माघ– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले कोसी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले नगर क्षेत्रमा रातारात सडक कालोपत्रे गरेको भन्दै अख्तियारलाई पत्र लेखेका छन् ।
मेयर साम्पाङले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्री राईले गरेको काम गुणस्तरहीन भएको भन्दै छानबिन गर्न माग गर्दै पत्र लेखेका हुन । साम्पाङले लेखेका पत्रमा उपमहानगर पालिकालाई कुनै जानकारी नदिइ शनिवार राति ९–१० बजेको समयमा मन्त्री राईबाट धरानको वडा नम्बर ४ र १५ को बिचको काठे पुलमा पर्ने सडकमा कालोपत्रे गरेको बताइएको छ ।
जसमा राति ९–१० बजेदेखि बिहान ३ बजेसम्म सडक कालोपत्रेको काम भएको ‘बुझिएको’ भनेका छन । मेयर साम्पाङले लेखेको पत्रमा भनिएको छ, ‘यसरी आधारातमा पिच गर्नु पर्ने, नगरी नहुने ताहुती के पयो र काम गर्दा धरान उपमहानगरपालिकालाई कुनै जानकारी नदिई काम गर्नु पर्ने बाध्यता के आइपर्यो ? ,’ सो लेखिबुझी उताको उत्तर जानकारी गराइदिन अनुरोध छ ।’
रात्रिकालीन समयमा धरानमा कालोपत्रेको काम गर्दा प्रकाश नपुग्ने भएकाले गुणस्तरीय काम नहुने दाबी गर्दै साम्पाङले यो विषयमा छानबिन गर्न अनुरोध गरेका छन्।
‘साथै, धरान उपमहानगरपालिका क्षेत्रमा राति कालोपत्रेको काम नहुने÷गर्न नपाइने नियमको जानकारी गराउँदै अन्य स्थानहरूमा समेत यस प्रकारको कमसल गुणस्तरीय काममा रोक लगाउनका लागि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइदिन हुन अनुरोध छ,’ पत्रको ब्यहोरामार्फत हर्कले भनेका छन् ।