प्रधानमन्त्री ओलीलाई विश्वप्रकाशको प्रश्नः माओवादी मान्दैन भनेर संविधान संशोधन ०८७ सालमा मात्रै हुन्छ भनिदिने ?

काठमाण्डु टुडे २०८१ माघ १९ गते १७:३१ मा प्रकाशित

काठमाण्डू, १९ माघ– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसलाई ‘बासी बहस’ को संज्ञा दिएका छन् । आज शनिबार चितवन कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस बासी बहस हो, संविधान सभामै पनि यो बहस उठेकै थियो। प्रत्यक्ष कार्यकारीको अभ्यास गर्ने देश एउटा इजरायल हो, त्यहाँ पनि सफल भएको छैन ।

हामी संसदीय प्रणालीबाटै जानुपर्छ, कांग्रेस बासी बहसतिर फर्किँदैन ।’ फरक प्रसङ्गमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर असहमति रहेको बताएका छन ।

महामन्त्री शर्माले भने, ‘प्रधानमन्त्रीजीले ०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भनिदिनुभयो, यसका प्रति गम्भीर असहमति छ। सातबुँदेमा लेख्दा संविधान संशोधनसमेत भनेर लेख्ने, अनि नगर्ने ?

राष्ट्रिय सभामा माओवादीले साथ दिएन भने हुँदैन। तर, संविधान संशोधन प्रोगेसिभ हुन्छ, त्यहाँबाट माओवादीले भाग्नुपर्ने कुनै कारण छैन। तर, माओवादी मान्दैन भनेर, अरु साना दलहरू मान्दैनन् भनेर ०८७ सालमा मात्रै हुन्छ भनिनु हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us