नेकपा एसका नेता प्रवेश गराउँदै प्रचण्डले भनेः माधव जीसँग पनि एकताको आधार बन्दैछ

काठमाण्डु टुडे २०८१ माघ १९ गते १४:५५ मा प्रकाशित

काठमाण्डू, १९ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको आधार बनिरहेको बताएका छन । आज (शनिबार) चितवनमा पार्टी आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

चितवनमा प्रचण्ड नेकपा एसका केही नेतालाई माओवादी केन्द्रमा भित्र्याएका थिए। नेकपा एसका नेता माओवादीमा प्रवेश गराउँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नरिसाउने दाबी गर्दै उनले एकताको वातावरण बनाएको बताए ।

उनले भने, ‘यो प्रवेशले माधवजीसँगको सम्बन्धलाई कुनै असर पर्नेछैन। उहाँहरूलाई भित्र्याउन मेरो कुनै भूमिका छैन। चितवनकै साथीहरूको भूमिका छ, अहिले माधव जी र हामी मिलेर अहिले हामीले समाजवादी मोर्चामा नयाँ ढंगले काम गर्न खोजिरहेका छौँ ।

अहिलेको पार्टी प्रवेशले माओवादी र नेकपा एसबीचको पार्टी एकताको आधार बन्दैछ भन्ने मेरो बुझाइ छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us