स्वर्णिम वाग्लेको स्मार्ट जुक्तिले संसदमा फस्नबाट जोगियो रास्वपा

काठमाण्डु टुडे २०८१ माघ १८ गते १८:४४ मा प्रकाशित

काठमाण्डू, १८ माघ– प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन नै संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा रुपमा प्रस्तुत हुने संकेत गरेको छ ।

शुक्रबार बैठकको कारबाही प्रारम्भ भएलगत्तै सभामुख देवराज घिमिरे अध्यादेशसहित प्रधानमन्त्री तथा मन्त्री परिषदका कार्यालयसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र बाचन गरेर सुनाउन खोजे । रास्वपा सांसदहरु आशनबाट उठे र आकस्मिक समयमा बोल्नका लागि समय मागे ।

सभामुख घिमिरेले बैठकको कार्यसूचीमा दलीय आधारमा बोल्न समय छुट्याइएकाले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे । तर, रास्वपा सांसदहरुले बैठक नियमित कारबाहीमा प्रवेश गर्नुअघि केही विषय दर्ज गर्नुपर्ने भन्दै समय मागे ।

उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सांसदहरु सोभिता गौतम, हरि ढकाल लगायतले पटकपटक बोल्न दिन माग गरे । तर, सभामुखले बोल्नकै लागि समय छुटयाएको र आफ्नो पालो आएपछि बोल्न भने । उनले छुट्याइएको समय अपुग भए थप समय समेत दिने प्रतिबद्धता जनाए ।

‘तपाईंहरुलाई बोल्न दिनकै लागि समय छुटयाइएको छ । आफ्नो समय आएपछि बोल्नुहोला । अहिलेलाई आशन ग्रहण गरेर बैठक सञ्चालनका लागि सहयोग गरिदिनुहुन माननीय सदस्यहरुलाई आग्रह गर्दछु’, घिमिरेले भने ।

रास्वपा सांसदहरुले टेरेनन् । संसद प्रतिपक्षको हुने भन्दै उनीहरुले सभामुखले आफूहरुमाथि फरक व्यवहार गर्न खोजेको आरोप लगाए । ‘संसद प्रतिपक्षको हो सभामुख महोदय । हामी पनि जनप्रतिनिधि हौं । हामीलाई फरक दर्जाको व्यवहार गरिनुभएन । बोल्न पाउँ सभामुख महोदय’, रास्वपा उपनेता श्रेष्ठले भने ।

सभामुखले पहिलेकै भनाइ दोहो-याए र भने, ‘बसौं माननीय सदस्यहरु, बसेर बैठक अघि बढाउन सहयोग गरौं ।’ उनले सभामुखले बैठक सञ्चालन गर्दा प्रश्न गर्न नपाइने संसद् नियमावलीको व्यवस्था बाचन गरेर सुनाए । त्यति गर्दा पनि रास्वपा सांसदहरु नबसेपछि सभामुख घिमिरिले बस्न ‘निर्देशन दिन्छु’, भन्ने शब्द प्रयोग गरे ।

रास्वपा सांसदहरुले अडान छाडेनन् । बोल्न पाउनुपर्छ भन्दै उभिइरहे । सभामुख र रास्वपा सांसदहरुबीच निकेबेर दोहोरी चल्यो । त्यसपछि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बाचन गराउन सुरु गरे ।

आफ्नो विरोधबीच सभामुखले बैठक अघि बढाएपछि रास्वपा संकटमा प-यो । बैठक अवधिभर विरोध गरिरहने कि बहिस्कार गर्ने भन्ने द्वििविधा भयो । रास्वपा सांसदहरु आपसमा मुखामुख गर्न थाले । त्यहीबीच उपसभापति स्वर्णिम वाग्लेले तत्काल ‘स्मार्ट’ जुक्ति निकाले, १५ मिनेटका लागि बैठक बहिस्कार गर्ने ।

उनले उक्त सन्देश प्रमुख सचेतक परियारमार्फत सांसदहरुसम्म पु-याए । अनि उपनेता विराजभक्तले १५ मिनेटका लागि बैठक बहिस्कार गर्ने बताए । रास्वपा सांसदहरु बाहिरिए ।

१५ मिनेटका लागि भनेर बाहिर निस्किएका रास्वपा सांसदहरु प्रधामन्त्री ओलीले सम्बोधन गर्दै गर्दा करिब २५ मिनेटपछि पुनः बैठक कक्षमा प्रवेश गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us