काठमाण्डू, १८ माघ– प्रहरीले अभौतिक मुद्रा (बिटक्वाइन) कारोबार गरेको आरोपमा तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको जयपुरका ३० वर्षीय विजेन्द्र कुमार सैनी, सोही राजस्थानका २२ वर्षीय मोनु सैनी र सोही ठाउँका ३५ वर्षीय नन्दलाल सैनी छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुको टोलीले पक्राउ गरेको हो ।
स्वीप अपरेशनमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–१ शिवपुरस्थित होटल हाइवेमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
९ माघदेखि उक्त होटलमा बस्दै आएका उनीहरुले बिट क्वाइनको कारोबार गरेको पाइएको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले जानकारी दिए ।
उनीहरूबाट २४ थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २६२ को अभौतिक मुद्राको प्रयोग गर्न नुहने कसुरमा अनुसन्धान सुरु गरिएको छ ।