काठमाण्डू, १८ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीका वरिपरि भएका मान्छेहरूले अहिले पनि भ्रष्टाचार गरिरहेको बताएका छन ।
आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् । तर, उनले उक्त भ्रष्टाचारमा संलग्न को हुन् भन्ने खुलाएनन् ।
बरु, ती भ्रष्टाचार भइरहेकोबारे प्रधानमन्त्री नै बेखबर रहेको चाहिँ उनले भने । उनले भने, ‘तपाईंको यो ६ महिने कार्यकालमा अहिले पनि तपाईंको वरिपरिका मान्छेहरूले सरकारले नियुक्त गर्ने विभिन्न पदमा करोड–करोड अफर गरिरहेका छन्, ‘तपाईंले धक्कुका साथ भन्नुभयो म भ्रष्टाचार गर्दिनँ गर्न दिन्नँ भनेर ।
तपाईंले गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन, तपाईंको वरिपरिकाले गरिरहेका छन् ।’ उनले प्रधानमन्त्री सूचनाबाट बाहिर भएको पनि बताए ।