काठमाण्डू, १८ माघ– एमाले सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताएका छन ।
आज (शुक्रबार) बाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा एमाले सांसद भट्टराईले यस्तो बताएका हुन । भट्टराईले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै अध्यादेशबाट जन्मिएको पार्टीले नै त्यसको विरोध गरिरहेकोमा अचम्म लागेको बताए ।
उनले भने, ‘आज मलाई अचम्म त यो कुरामा लागिरहेको छ कि जुन अध्यादेशबाट जन्मिएको पार्टी हो त्यो पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ, अध्यादेशबाट जन्मिएको छ, अध्यादेश नै ठिक छैन भनिरहेको छ ।
यो चाहिँ अचम्म हुन लागेको छ नेपालमा ।’ ०७८ सालमा अध्यादेशमार्फत् नै पार्टी विभाजन गरेर माधवकुमार नेपालले एमाले विभाजन गरेका थिए । उनले ०७८ सालमा १६ वटा अध्यादेश आएको भन्दै त्यतिबेला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली नभएको पनि बताए ।