संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको भन्दा अगाडि गर्न कांग्रेस सांसदहरुको माग

काठमाण्डु टुडे २०८१ माघ १८ गते १३:४३ मा प्रकाशित

काठमाण्डू, १८ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेसले संसदीय दलको बैठकमा संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्न माग गरेको छ ।

आज (शुक्रवार) नयाँ बानेश्व स्थित संसद भवनको ल्होत्से हलमा बसेको बसेको कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगमी संघको निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्नेगरी आवश्यक व्यवस्था मिलाउन माग गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले स्थानीय तहको निर्वाचन भन्दा अगाडि आम निार्वचन गर्ने व्यवस्था मिलाउन सांसदहरुले जोडदार माग गरेको जानकारी दिए ।

उनले आज सांसदहरुले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरुले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने जानकारी दिए । उनले बैठकमा सांसदहरुले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्र विकासनिर्माणका कुराहरु उठाउनुभएको बताए । उनले भने, ‘नेपाली काँग्रेसको संसदीय दलको बैठक आज सक्नेगरी हामीले बोलाएका थियौँ । तर बोल्ने वक्ताहरुको क्रम लामो भएकाले आज पनि बैठक सकेनौँ ।

सांसदहरुको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरु, पदाधिकारीहरु र नेताहरुले बोल्ने क्रम बाँकी छ । यो संसदको बैठक २४ गते हुन्छ । त्यही दिन बिहान साढे ८ बजेदेखि बस्नेगरी बैठकलाई स्थगन गरिएको छ । अध्यादेशको विषयमा मान्य सदस्यहरुले कुरा उठाउनुभएको छ । आफ्नो क्षेत्र विकास निर्माणका कुराहरु उठाउनुभएको छ ।

सम्बन्धित जिल्लाका मान्य सदस्यहरुले पाथीभराको केबलकारका विषयमा जुन किसिमको द्वन्द्व भइरहेको छ । त्यसमा पनि प्रश्न उठाउनु भयो । त्यसमा गृहमन्त्रीज्युले संसदीय मामिला मन्त्रालयअन्तर्गत पर्दो रहेछ । उहाँले संसदीय मामिला मन्त्रालयको सचिव बोलाएर वार्ता समिति बनाएर वार्ता गरेर सकारात्मक ढंगबाट टुंग्याउन निर्देशन दिएको बताउनु भयो ।

आजको बैठकमा आगामी निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा अगाडि आम निार्वचन गर्ने व्यवस्था मिलाउन सांसदहरुले जोडदार माग उठाउनुभएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us