रविले ‘कानुनविपरीत निलम्बन’ भन्दा सभामुखले भनेः पूर्वाग्रह थिएन

काठमाण्डु टुडे २०८१ माघ १८ गते १३:३६ मा प्रकाशित

काठमाण्डू, १८ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेसामु निवेदन पत्र बुझाएका छन ।

आज शुक्रवार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर लामिछानेले निवेदन दिएका हुन् । लामिछाने जाँदा उनीसँगै रास्वपाका १५ जना सांसद र उनका वकिल समेत पुगेका थिए ।

लामिछाने सभामुख कार्यकक्ष प्रवेश गर्ने बित्तिकै सभामुख घिमिरेले ‘तपाईँको स्वास्थ्य के छ ? भनेर सोधेका थिए। त्यसपछि सभापति लामिछानेले निवेदन दिँदै आफू विरुद्धको निलम्बन कानुनसम्मत नरहेको दाबी गरेका थिए । ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, ०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुन सम्मत छैन,’ भेटमा लामिछानेले भने,‘आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन अनुरोध छ।’ लामिछानेले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’

त्यसपछि लामिछानेका वकिलले कानुनी व्यवस्थाबारे सभामुख घिमिरेलाई प्रस्ट्याउन कोसिस खोजेका थिए । जबाफमा सभामुख घिमिरेले आफूले कानुनसम्मत नै लामिछानेको सांसद पद निलम्बन गरेको प्रतिक्रिया दिए। ‘मैले विद्यमान कानुन, संसद् नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ,’ सभामुख घिमिरेले भने,‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन ।’

हिजो सभामुख पदमा अरू कोही, आज आफू र भोलि अरू नै हुने भएकाले पदमा रहँदा कानुनको परिपालन गर्नु दायित्व रहेको सभामुख घिमिरेले बताए । उनले भने, ‘तपाईँहरूले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद् सुरु हुने अन्तिम समयमा छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us