संसद्मा आजै अध्यादेश टेबुल हुन्छ, २४ गते पारित गरिन्छः कांग्रेस

काठमाण्डु टुडे २०८१ माघ १८ गते १२:४२ मा प्रकाशित

काठमाण्डू, १८ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आजै (शुक्रबार) संसदमा अध्यादेश टेबुल हुने बताएका छन् । संसद् अधिवेशन दिउँसो १ बजेबाट सुरु हुँदैछ ।

त्यसअगाडि बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक घिमिरेले यस्तो बताएका हुन । उनले भनेका छन्, ‘दलका नेताहरु बोलेर अध्यादेश आजै टेबल हुन्छ, २४ गते पारित हुन्छ ।’

मन्त्रिपरिषद्को सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए । पुस २९ गते थप चार वटा अध्यादेश जारी भयो ।

जसमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेको छ ।

माघ २ गते भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि जारी भयो । संसद् नरहेका बेला सरकारले ल्याएका अध्यादेश संसद्को अधिवेशन सुरु भएको पहिलो दिन नै सभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

यसअनुसार शुक्रबार ६ वटै अध्यादेश दुबै सदनका पेस गर्ने सम्भावित कार्यसूची छ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us