
काठमाण्डू,१८ माघ–पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरेको छ ।
गत असोजमा २३औं राष्ट्रिय सम्मेलन सकिए पनि उमेर हद लगाउने कि नलगाउने भन्ने विवादका कारण लामो समयसम्म नेतृत्व चयन हुन सकेको थिएन ।
उमेर हदको टुंगो निर्वाचनमार्फत नै लगाएपछि निर्वाचनमार्फत नै क्रान्तिकारीको नेतृत्व चयन गरिएको हो । अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वचित भए ।
सापकोटा माओवादी उपमहासचिव शक्ति बस्नेत समर्थित हुन् । बस्नेतले क्रान्तिकारीमा आफ्ना उम्मेदवार खडा गरेपछि माओवादीमा उनको छुट्टै गुटको उदय भएको चर्चा चलेको छ ।
तर, बस्नेत आफूले गुट नबनाएको दाबी गर्छन् । यतिबेला गुट निर्माण नभई अस्तित्वमा रहेका गुटहरुको समाप्ती जरुरी रहेको उनले बताए । पार्टीको पक्षमा देशव्यापी जनलहर देखिएको र नेतृत्वले पार्टीर्लाइ फेरि एकपटक देशको पहिलो शक्ति बनाउने संकल्प गरेको समयमा गुटहरुको विघटन हुनुपर्ने उनको भनाइ छ ।
‘म महिल्यै टिम (गुट) बनाउने मान्छे होइन । बनाएको पनि छैन । म समूह होइन पार्टी बनाउे मान्छे हुँ’, बस्नेतले काठमाण्डूटुडेसँग भने,‘माओवादीप्रति देशभर आकर्षण बढिरहेको र आफ्नो औचित्यता सावित गर्ने अवस्था बनेको बेलामा नेतृत्व केन्द्रीकरणको अवश्यकता छ । लिडर सिप (नेतृत्व) ले पनि संकल्प गरिरेको अवस्थामा एकीकृत र केन्दीकृत रुपमा अघि बढ्नुपर्छ भन्नेमा मेरो प्रष्ट दृष्टिकोण छ ।’
उनले विद्यार्थी संगठनमा कसले जित्यो र कसले हा¥यो भन्ने विषयलाई भन्दा असोजमा सम्मेलन सकिए पनि अहिलेसम्म नेतृत्व चयन हुन नसकेर संगठन भद्रगोल बनेको अवस्थालाई आफ्नो संयोजनमा सम्मालेको बस्नेतले बताए ।
‘क्रान्तिकारीको सम्मेलनले लामो समयसम्म पूर्णता पाएको थिएन । सहज वातावणमा यसलाई ‘कम्प्लिट’ गर्ने कुरा चुनौतीपूर्ण बनेको थियो । सबैलाई स्वीकार्य हुने हिसाबले टुंग्याउनुपर्ने थियो ।
आन्तरिक प्रतिस्पर्धामा को आउने को नआउने भन्ने कुरा फरक हो । लामो समयको संक्रमणको अवस्था रहँदा पार्टीभित्र त्यसका प्रभावहरु यत्रतत्र देख्न थालिएका थिए । आपसी लडाईं र खिचानातीको जस्तो अवस्था थियो । अब त्यो अवस्थाको सहज ढंगले अवतरण भएको छ । मैले यसका लागि धेरै दःुख गरेको छु’, बस्नेतले भने ।
आफूलाई पार्टीले चुनावको सहज वातावरण बनाउने र सम्मेलन सफल पार्न सहजीकरणको जिम्मेवारी दिएको र त्यसलाई सफल पारेको उनले भनाइ छ । आफूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमै काम गरेको तथा प्रचण्डको स्पिरिटलाई बुझेर काम गरेको बस्नेतले उल्लेख गरे ।
सम्मेलन सफल पार्नु मेरो मुल जिम्मेवारी थियोे । असोजमा स्थगन भएको सम्मेलनलाई पूर्णता दिने कुरालाई मुख्य प्राथमिकता बनाएर भन्ने पार्टी नेतृत्वको स्पिरिटलाई बुझेर काम गरेको हुँ’, बस्नेतले भने, ‘अहिले मूल नेतृत्वको बारेमा आशंका हुने र विकेन्द्रित हुनु हुँदैन भन्ने मेरो बुझाई हो । अध्यक्षसँग समन्वय गरेरै काम गरिरहेको थिएँ । त्यसैले मैले गुट बनाएको भन्ने कुरा सत्य होइन ।’