एकीकृत समाजवादीको आरोपः अध्यादेशमार्फत सरकारले देश लुट्ने काम गर्‍यो

काठमाण्डु टुडे २०८१ माघ १७ गते १७:२२ मा प्रकाशित

काठमाण्डू, १७ माघ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सरकारले अध्यादेशमार्फत देश लुट्न लागेको आरोप लगाएको छ । आज बिहिबार एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले देश लुट्न नदिने भन्दै अध्यादेशको विरोध गर्ने निर्णय गरेको उप महासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, ‘हेर्दाखेरि अध्यादेशजस्तो देखिन्छ । तर यसले भ्रष्टाचारी र कालोबजारी ऐनलाई तोडमोड गर्‍यो देश लुट्ने अभिप्राय देखियो, ‘२० प्रतिशत भन्दा बढी नाफा खान नपाउने ऐन लागु नगर्ने भन्ने बित्तिकै बजारमा सिमेन्टको मूल्य ५ सयबाट ८ सय पुगेको छ ।’

उनले सरकार नै मुठीभर व्यवसायीका पक्षमा लागेकाले सरकारको निर्णयविरुद्ध जान तयार रहेको बताए । त्यस्तै भूमिहीनलाई घरवास दिने संविधानमा व्यवस्था भए पनि त्यसको जगमा टेकेर जङ्गलको जग्गा व्यक्ति र उद्योगहरूलाई दिने खेल भएको भन्दै गिरीबन्धु टि–स्टेटको जग्गा प्लटिङलाई वैधता दिने प्रयास भएको भन्दै एकीकृत समाजवादीले विरोध गर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us