सहकारी ठगलाई कारबाही गरिएको हो, रास्वपा सक्न खोजेको होइनः एमाले

काठमाण्डु टुडे २०८१ माघ १७ गते १७:०६ मा प्रकाशित

काठमाण्डू, १७ माघ– पूर्व मन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सहकारी ठगलाई कारबाही गर्न खोज्दा गलत तवरले प्रचार गर्न खोजीएको भन्दै आपत्ति व्यक्त गरेका छन ।

आज (बिहीबार) प्रेस चौतारी ललितपुरको जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै एमालेका कार्यवहाक महासचिव समेत रहेका नेता ज्ञवालीले यस्तो बताएका हुन । उनले भने, ‘ जो जो सहकारी अनियमिततामा संलग्न छन्, उनीहरूलाई बिन मोलाहिजा कारबाही अगाडि बढाइएको छ, ‘बिचमा राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूले एउटा भाष्य निर्माण गर्ने कोसिस गर्नुभयो, कि यो त रास्वपालाई निषेध गर्न, रास्वपालाई सिद्ध्याउन प्रायोजित गरिएको छ भनेर।’ यसो भनिरहँदा रास्वपाका नेताले वास्तविक तथ्यलाई ढाकछोप गरेको उनले बताएका छन ।

‘रवि लामिछानेजीसँगै कतिपय नेकपा एमालेका मान्छे पनि परेका छन्, कतिपय कांग्रेसका पनि परेका छन्,’ ज्ञवालीले भने । जुन औला विष लाग्छ, त्यही औला काट्नुपर्ने उनले बताएका छन । उनले भने, ‘हामीले कसैको मुख हेर्नुपर्ने जरुरी छैन । गल्ती गरिएको छैन भने डराउनुपर्ने कारणै छैन।’ सरकारले सहकारी क्षेत्रको बेथितिलाई सम्बोधन गर्ने प्रयास गरिरहेको पनि ज्ञवालीले बताए ।

यस क्रममा सरकारले हालसम्म १४ हजार बचतकर्ताहरूको फिर्ता गरेको दाबी ज्ञवालीले दाबी गरे । ६ हजारको पूर्ण रूपले र बाँकी ८ हजारको कसैको ७५ प्रतिशत, कसैको ५० प्रतिशत फिर्ता गरेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us