सुमना श्रेष्ठको आरोपः आशिका तामाङलाई ज्यादति गर्नुमा गृहमन्त्रीको समेत मौन समर्थन छ

काठमाण्डु टुडे २०८१ माघ १७ गते १६:५५ मा प्रकाशित

काठमाण्डू, १७ माघ– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले आशिका तामाङमा आम मानिसको आक्रोश प्रतिबिम्वित रहेको बताएकी छन । आज बिहिबार आशिका भेट्न भक्तपुरको जगती प्रहरी चौकी पुगेकी उनले भनेकी छन्, ‘उहाँको तरिका अराजक छ, त्यसमा असहमति हुँदा पनि त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्वित भएको देख्छु ।’

उनले थपेकी छन्, ‘अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिलेसम्म हुन सकेको छैन। सबै वृत्तान्तको भिडियो आफैँले पोस्ट गरेकी छिन् त ? यो विभिन्न जिल्लामा जाहेरी दिने को हो, अरु जाहेरीमा पनि यही रफ्तारमा कारबाही हुन्छ ?’ उनले आशिकालाई दुःख दिने कुरामा गृहमन्त्रीको समेत मौनसमर्थन रहेको आरोप लगाएकी छन् ।

‘गृहमन्त्रीज्यू यसमा तपाईंको मौन समर्थन प्रष्ट छ, नत्र प्रहरीले यत्रो ज्यादति गर्ने थिएन ’ उनले भनेकी छन्। सुमनाले आशिकाको रिहाइको मागसमेत गरेकी छन्। आशिका अभद्र व्यवहारमा गत माघ २ गते पक्राउ परेकी थिइन्। अहिले उनलाई भक्तपुरको जगती प्रहरी चौकीमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us