काठमाण्डू, १७ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेसले ७७ जिल्लाका सभापतिहरुलाई प्रशिक्षण दिने तयारी गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिने कार्यक्रम राखेर जिल्ला सभापतिहरुलाई प्रशिक्षण प्रदान गर्न लागीएको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिएका छन ।
२२ र २३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय भएको कास्कीका सभापति बरालले जानकारी दिए । प्रशिक्षणमा केन्द्रबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरु उपस्थित हुने पनि उनले जानकारी दिएका छन ।
स्रोत व्यक्तिका रुपमा प्रशिक्षण विभागका अन्य सदस्यहरु पनि सहभागी हुने भएका छन् । प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका लागि प्रत्येक जिल्लाका उपसभापति समेत सहभागी हुने बताइएको छ ।
कांग्रेसको विधान अनुसार सबै तहमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख उपसभापति हुने व्यवस्था छ ।