कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँः सरकार प्रवक्ता

काठमाण्डु टुडे २०८१ माघ १७ गते १४:२९ मा प्रकाशित

काठमाण्डू, १७ माघ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने दाबी गरेका छन ।

आज (बिहिबार) काठमाण्डूमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको पनि बताएका छन ।

उनले आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले आइसियुमा ल्याएको उल्लेख गर्दै अब छिटै नै लयमा फर्किने पनि बताएका छन ।

उनले अर्थतन्त्रलाई लयमा फर्काउने उद्देश्यले नै अहिले कानूनी र नीतिगत क्षेत्रमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको उनले बताए। उनले आइटी क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न पनि अध्यादेशमा व्यवस्था गरिएको पनि बताएका छन । उनले भने, ‘नेपाल सरकारले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्नको लागि काम गरिरहेको छ ।

हामी सरकारमा आउँदा त अर्थतन्त्र साँच्चै नै कोमामा थियो । त्यो कोममा भएको अर्थतन्त्रलाई हामीले कमसेकम अहिले आइसियुमा ल्याएका छौँ । अब त्यसलाई हामी बाहिर निकाल्न चाहन्छौँ । त्यही उद्देश्यका साथ कानूनी क्षेत्रमा, नीतिगत क्षेत्रमा रहेका समस्याहरु सबै जुन बाधकहरु थिए, त्यसलाई हल गर्नको लागि हामीले अध्यादेश जारी गरेका छौँ ।

यो अध्यादेशले धेरै कुराहरु फुकाएको छ भन्ने मलाई लाग्छ । एआईको एप्लाई कसरी गर्ने भन्ने सबैको चासो थियो । आइटी सेक्टरलाई इण्डस्ट्रीको रुपमा कसरी विकसित गर्ने भन्ने चिन्ता थियो ।

सबै व्यवसायीहरुको चाहना के थियो भने आइटी सेक्टरमा काम गरिरहेका उद्योग, व्यवसायहरु उनीहरुले आफ्नो कम्पनीको संस्थाको सहायक संस्थाहरु अरु देशमा पनि खोल्न पाउने परिस्थिति बनोस्, हामीले उनीहरुको प्रतिष्पर्धामा भाग लिन पाइयोस्, त्यहाँ पनि लगानी गर्नसके धेरे विकास गर्न आइटी सेक्टरमा सकिन्छ, नेपाल सरकारको राजश्व पनि वृद्धि गर्न सकिन्छ भन्नुभएको थियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us