संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत: उपमहासचिव पुन

काठमाण्डु टुडे २०८१ माघ १७ गते १३:०८ मा प्रकाशित

काठमाण्डू, १७ माघ– पूर्व मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले प्रतिशोधको भावनाले काम गरिरहेको दाबी गरेका छन । सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको उनले बताए ।

आज (बिहीबार) प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन । उनले दुई तिहाइ मत रहेको दाबी गर्ने सरकारले सदनबाट पास गरेर लानुपर्ने विषयलाई अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको पनि बताएका छन ।

विनाकारण संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत रहेको उनले बताए । संसदको अवहेलना गर्दै अध्यादेश जारी गरेर देश चलाउन खोजिएको बताउँदै उनले सरकारले स्वेच्छाचारी ढङ्गले शासन गर्न खोजेको पनि उनले बताए । उनले भने, ‘अध्यादेश जरुरी पर्छ, संविधानले पनि व्यवस्था गरेको छ, ‘अति जरुरी भए मात्र अध्यादेश ल्याउनु उचित भए पनि सामान्य विषयवस्तुलाई अध्यादेश जारी गर्नु गलत हो ।’

पूर्वअर्थमन्त्रीसमेत रहेको पुनले देशमा अर्थतन्त्रको सुधारको पहल हुन नसक्दा समस्या देखा परेको पनि बताए । प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा गरेको कामलाई निरनतन्ता नदिएर सरकार अर्को बाटोमा लाग्दा ६ महिनाको अवधिमा पनि केही काम गर्न नसकेको आरोप उनले लगाए ।

उनले माओवादी केन्द्रले सदन र सडकमा शसक्त ढंगले प्रतिपक्षको भूमिका उठाउने बताउँदै अब आफूहरु सरकारमा नगएर जनतामा जाने र आगामी निर्वाचनमा एक्लै चुनाव गर्ने उल्लखे गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us