सामाजिक सञ्जाल विधेयकका प्रावधानमा पत्रकार महासंघको आपत्ति

काठमाण्डु टुडे २०८१ माघ १६ गते २१:०३ मा प्रकाशित

काठमाण्डू, १६ माघ– नेपाल पत्रकार महासंघले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने गरी विधेयक ल्याएको भन्दै महासंघले आपत्ति जनाएको हो ।

महासचिव रामप्रसाद दाहालले बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघसँग सरकारले विधेयक ल्याउनुअघि परामर्श नगरेको उल्लेख छ ।

‘अगुवा नागरिक संस्था महासंघलगायत सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकामा महासंघ गम्भीर असहमति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्यमान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन महासंघले सरकारसँग माग गरेको छ ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us