एमाले सुदूरपश्चिममा पहिरो, भीम रावललाई साथ दिँदै ५९ नेताद्वारा पार्टी परित्याग

काठमाण्डु टुडे २०८१ माघ ७ गते १३:१५ मा प्रकाशित

काठमाण्डू, ७ माघ– उपाध्यक्ष भीम रावल निष्कासित भएसँगै असन्तुष्ट एमाले सुदूरपश्चिमका ५९ नेताले पार्टी छाडेका छन् ।

उनीहरुले सोमबार विज्ञप्ति जारी गर्दै एमाले छाडेर रावलको ‘मातृभूमि जागरण’ अभियानमा समाहित हुने घोषणा गरेका हुन् । विवादित व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा दान लिएको विरोध गरेपछि रावललाई गत १० पुसमा एमाले सचिवालय बैठके निष्कासनको कारबाही गरेको थियो ।

रावललाई साथ दिनेमा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मल रावल, दुधकला विष्ट, प्रदेश आर्थिक विभाग प्रुमुख दीपक सुनार, प्रदेश सल्लाहकार हर्क कुँवर, सुशीला बोगटी, सुरत भुल र प्रकाश शाह छन् ।

विज्ञप्तिमा उनीहरुले रावलमाथिको कारबाहीलाई अध्यक्ष केपी ओलीको स्वेच्छाचारी र सत्ता उन्मादी निर्णयको संज्ञा दिएका छन् ।

ओलीले कम्युनिष्ट र समाजवादका विरोधीहरुसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेलेको आरोप उनहरुको छ । ‘केपी ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरुले बसिरहनुको कुनै औचित्य छैन’, विज्ञिप्थमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us