भीम रावलसँग जहाजमा सँगै यात्रा गरेका कर्ण थापा ओलीको ‘कालो सूची’ मा

काठमाण्डु टुडे २०८१ माघ ७ गते ८:२० मा प्रकाशित

काठमाण्डू, ७ माघ– शुक्रबार बिहान एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावल र एमाले स्थायी समिति सदस्य कर्ण थापाले काठमाण्डूबाट धनगढीसम्म सँगै जहाजमा यात्रा गरे ।

उनीहरुले श्रीएयरको जहाजमा एउटै सिटमा यात्रा गरेको तस्बिरलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा छ । पार्टी कार्यालय बनाउन विवादित व्यवसायी मिनबहादुर गुरुङसँग जग्गा दान लिएको विषयमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको आलोचना गरेपछि रावललाई एमाले केन्द्रीय सचिवालयले गत १० पुसमा संगठित सदस्यबाट निष्कासन गरेको थियो ।

२३ पुसमा सकिएको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो । त्यसयता रावलले ‘मातृभूमि जागरण अभियान’, का नाममा राजनीतिक सक्रियता बढाएका छन् ।

थापा र रावल सधैंजसो पार्टीभित्र फरक खेमामा रहे । सुदूरपश्चिममा उनीहरुबीच संगठन कब्जा गर्ने होडबाजी नै चलेको थियो । थापा ओलीका विश्वास मात्र मानिन्थे ।
रावल भने माधव नेपाल र झलनाथ खनाल समूहमा थिए । तर, माओवादी केन्द्रबाट आएका नेता लेखराज भट्टलाई सुदूरपश्चिमको इन्चार्य बनाइएपछि भने रावल र थापा निकट भएका थिए ।

नेता थापा रावलसँगै यात्रा गरेको विषयमा प्रधानमन्त्री ओली सशंकित भएका छन् । राजनीतिक रुपमै उनीहरुबीच सामिप्यता बढेको हो वा संयोगले सँगै यात्रामा भेटेका हुन् भन्नेबारे बुझ्न आफ्ना विश्वासपात्रहरुलाई अह्राएको श्रोतले जनाएको छ । थापा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन सक्रियमध्ये एक हुन् ।

‘ओलीले अब एमाले हाँक्न सक्नुहुन्न । एमाले बचाउन हो भने विद्या भण्डारीलाई नल्याई हुँदैन’, थापाले निकटवर्तीहरुलाई भन्ने गरेका छन् । गत ३० असारमा ओली प्रधानमन्त्री भएयता थापाले बालुवाटार टेकेका छैनन् । पार्टी बैठकमा टाढाबाट देखादेखबाहेक उनीहरुबीच संवाद छैन । रावलसँग कुराकानी गरेकै आधारमा तत्काल कारबाही गर्ने मुढमा त ओली छैनन् । तर, थापा ओलीको ‘कालो सूचीमा’ परेको सुदूरपश्चिमकै एक नेताले बताए ।

थापाले आफूहरु जहाजमा सँगै यात्रा गर्नुलाई संयोग भएको बताए । उनले पार्टी कामका सिलसिलामा बाजुरा जाने सिलसिलामा रावलसँग जहाजमा भेट भएको र संयोगले सिट पनि सँगै परेको प्रष्टीकरण दिए । यात्राका क्रममा सन्चो बिसन्चो र पारिवारिकबाहेक आफूहरुबीच राजनीतिक विषयमा संवाद नभएको जिकिर उनले गरे ।

‘यसलाई राजनीतिक रुपमा बुझियो भने गलत हुन्छ’, थापाले भने, ‘उहाँलाई पार्टीले कारबाही गरेको छ । हाम्रो बाटो फरक भएको छ ।’ उनले सँगै यात्रा गरेको तस्बिर सामाजिक सञ्जामा राखेर भ्रमको राजनीति गर्ने काम भइरहेको प्रतिक्रिया दिए ।

एमालेले रावलसँग सम्पर्कमा रहेका नेता कार्यकर्तामाथि असहिष्णु व्यवहार देखाउन थालेको छ । रावललाई विमानस्थलमा स्वागत गर्न गएको आरोपमा एमाले कैलालीले शनिबार मात्र सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उनका छोरा पार्टीको कैलाली जिल्ला सदस्य भीष्मराज सुवेदीमाथि कारबाही सिफारिस गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us