पर्वत, ६ माघ– एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आफ्ना अध्यक्ष केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारीविरुद्ध निर्मम भएर लागेको दाबी गरेका छन् ।
एमाले पर्वतको आयोजनामा सुरु प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै ज्ञवालीले भ्रष्टाचार मुलुकका लागि अभिसाप भएको बताए । सरकारले जुनसुकै पार्टीको भए पनि भ्रष्टाचारीलाई उन्मुक्ति नदिने जिकिर उनको छ ।
जुनसुकै पार्टीमा आवद्ध भए पनि भ्रष्टाचारीलाई सरकारले कारबाहीको दायरामा ल्याएरै छाड्ने दाबी ज्ञवालीले गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु टी स्टेट, सहकारी ठगीमा संलग्न आफूनिकटलाई उन्मुक्ति दिएर सोही प्रकृतिको मुद्धामा विपक्षी दलका नेतालाई कारबाही गरेको तथा मानव तस्करसँग मिलेर युवालाई जापान लैजाने कोशी प्रदेशका मन्त्रीलाई उन्मुक्ति दिएर पैसा तिरेर जाने युवालाई कारबाही गरेको जस्ता आरोप सरकारले खेपिरहेका बेला ज्ञवालीले यस्तो दाबी गरेका हुन् ।
फरक प्रसंगमा उनले विपक्षीले सत्ताबाहिर रहनुपर्दाको छटपटीका कारण सरकार ढल्ने हल्ला फैलाएको बताए । सरकार तीन वर्ष चल्ने भएपछि प्रतिपक्षी दलहरु आत्तिएको उनको दाबी छ । विपक्षी दलले वक्तव्यबाजी गर्दैमा सरकार घेराबन्दीमा पर्ने अवस्था नरहेको स्पष्टोक्ति ज्ञवालीले दिए ।