छिन्नभिन्न भयो पार्टी एकता अभियानः वामदेव एमालेतिर, अर्यालको नेतृत्वमा बहुमत नेता माओवादीतिर

काठमाण्डु टुडे २०८१ माघ ६ गते १९:४२ मा प्रकाशित

काठमाण्डू, ६ माघ– वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका चार उपाध्यक्ष सहित बहुमत केन्द्रीय समितिले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ ।

उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा अभियानका बुहमत केन्द्रीय सदस्य वामदेवबाट अलग्गिएका थिए । उनीहरुले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरे ।

अभियानका उपाध्यक्ष एवम लुम्बिनी प्रदेश इन्चार्ज अर्याल, उपाध्यक्ष एवम कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, उपाध्यक्ष एवम कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र उपाध्यक्ष एवम मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छोडेको पत्रकार सम्मेलनमार्फत घोषणा गरेका हुन् ।

उनीहरुले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा माओवादी केन्द्र लगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी उपाध्यक्ष अर्यालको नेतृत्वमा चार सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन् । वार्ता समितिको सदस्यमा उपाध्यक्ष काफ्ले, सुब्बा र भट्टराई छन् ।

वामदेव निस्सर्त ढंगले एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढंगले अगाडि बढेपछि विभाजनको बाटो रोज्नुपरेको र एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरुको निष्कर्ष रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us