काठमाण्डू, ६ माघ– वामदेव गौतम अन्ततः एमाले फर्कने निश्चित भएको छ ।
गौतम केही समयअघिसम्म नेकपा एकीकृत समाजवादीमा जाने तयारीमा थिए । गौतम केही दिनभित्रै एमालेमा समाहित हुने उनीनिकट पत्रकार विश्वमणि सुवेदीले बताए ।
एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका अध्यक्ष सुवेदी केही दिनअघि मात्र एमाले प्रवेश गरेका थिए । ‘वामदेव कमरेड एमालेमा समाहित हुने निश्चित भएको छ’, सुवेदीले काठमाण्डूटुडेसँग भने, ‘केही प्राविधिक विषय मिलेपछि केही दिनमै उहाँ हामी सँगै हुनुहुनेछ ।’
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली गौतमबीच दुई÷तीन चरणमा कुराकानी भएको उनले बताए । पछिल्लोपटक उनीहरुबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको थियो ।
दुई नेताबीच आइतबार फोन वार्ता भएको नेताहरुले बताएका छन् । सुवेदीका अनुसार वामदेव एमालेमै फर्कने निधोमा पुग्नुमा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले गरेको आशंका हो ।
‘माधव नेपालले वामदेव कमरेडप्रति शंकाको नजरले हेर्नुभयो । त्यसैले उहाँलाई एमालेमै फर्कन प्रेरित गरेको हो भन्ने मैले बुझेको छु’, उनले भने । आफू एमाले प्रवेश गरेपछि नेपाल गौतमसँग थप सशंकित भएको सुवेदीले उल्लेख गरे ।
सुवेदी लामो समयदेखि गौतमको प्रेस सहयोगीको भूमिकामा छन् ।