
काठमाण्डू, ६ माघ– बुटवलस्थित सुप्रिम सहकारी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्धा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार रुपन्देहीमा मुद्दा दायर गरेको हो ।
कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले ठगी र संगठित अपराध कसुरमा थप १४ सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको जानकारी दिइन् ।
यसअघि गत ३ वैशाखमा सुप्रिमका १ हजार ८ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रूपैयाँ हिनामिना भएको कसुरमा २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
केसीका अुनसार लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र गार्खा मिडिया नेटवर्कमा सामूहिक २ करोड गरी चार करोड रुपैयाँ बढी बिगो माग गरिएको छ ।
लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी कसुरमा ६५ लाख र काठमाण्डूको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीविरुद्धको मुद्धामा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । यस्तै उनीविरुद्ध चितवनको सहारा चितवन सहकारीको बचत अपचलनमा समेत मुद्धा दायर गरिएको छ ।