काठमाण्डु, १७ पुस– महोत्तरीको बर्दिबासमा ३ जना छात्राले सँगै विष सेवन गरेका छन । विष सेवन गरेर माइस्थान जङ्गलमा अचेत अवस्थामा भेटिएका ३ जना मध्ये एक जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–१० घर भएकी १६ वर्षीय रिंकु शर्मा रहेकी छन् । महोत्तरीको मनरासिसुवा नपा–२ घर भएकी १७ वर्षीय उषा पण्डित र सिराहा धनगढी नपा–११ घर भएकी १९ वर्षीय सञ्जु यादवको उपचार भइरहेको महोत्तरीको एसपी नुकल पोखरेलले जानकारी दिएका छन ।
उनीहरू बर्दिबास स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका जियोमेट्रिक इन्जिनियरिङको विद्यार्थी रहेको खुलेको उनले जानकारी दिएका छन । परीक्षा बिग्रेको भनेर उनीहरूले जङ्गलमा गएर विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएका छन ।
शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार गराइरहेका दुई जनाको अवस्था सुधार भईरहेको पनि प्रहरीले जानकारी दिएको छ । १५ पुस मा छुट्टीको दिन उनीहरूले विष सेवन गरेका हुन् । जङ्गलमा अचेत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।