आफैले चुनाव हारेका शंकर पोखरेल भन्छन्ः ०८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउछ अनि कमजोर शक्तिको शासन अन्त्य हुन्छ

काठमाण्डु टुडे २०८१ पुष १६ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, १६ पुस– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् ।

आज (मंगलबार) नेपालगञ्जमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन । महासचिव पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै हिडेको आरोप लगाएका छन ।

उनले भने, ‘अझै अब म नै प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिड्नु भएको छ ।’ यसरी कमजोर पार्टीले बलिया शक्तिमाथि शासन गर्न खोजेकाले नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नु परेको महासचिव पोखरेलले बताएका छन ।

महासचिव पोखरेलले आगामी चुनावपछि कमजोर शक्तिको शासन अन्त्य हुने बताए । उनले एमालेले बहुमत ल्याउन दाबी पनि गरे । उनले भने, ‘नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने कुरा नै अबको हाम्रो मिसन हो ।

एउटा पार्टीको सरकार नबनी देश बन्दैन ।’ महासचिव पोखरेलले सिंगो देश बलियो बनाउन क्षेत्रीय पार्टीमा मत विभाजन हुन नहुने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us