काठमाण्डु, १६ पुस– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् ।
आज मंगलबार नेपालगञ्जमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन । महासचिव पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै हिडेको आरोप लगाएका छन । उनले भने, ‘अझै अब म नै प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिड्नु भएको छ ।’
यसरी कमजोर पार्टीले बलिया शक्तिमाथि शासन गर्न खोजेकाले नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नु परेको महासचिव पोखरेलले बताएका छन ।
महासचिव पोखरेलले आगामी चुनावपछि कमजोर शक्तिको शासन अन्त्य हुने बताए । उनले एमालेले बहुमत ल्याउन दाबी पनि गरे ।
उनले भने, ‘नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने कुरा नै अबको हाम्रो मिसन हो । एउटा पार्टीको सरकार नबनी देश बन्दैन ।’ महासचिव पोखरेलले सिंगो देश बलियो बनाउन क्षेत्रीय पार्टीमा मत विभाजन हुन नहुने पनि बताए ।