काठमाण्डु, १५ पुस– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको दाबी गरेका छन ।
आज सोमबार प्युठानको जुम्रीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमहासचिव पुनले यस्तो बताएका हुन ।
पुनले अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पुर्याउने काम गरेकोप्रति उनले आपत्ति व्यक्त गरेका छन ।
उनले भने, ‘रवि लामिछानेमाथि छानविन गर्ने कुरामा हाम्रो भन्नु केही छैन, ‘प्रक्रिया नपुर्याइ मध्यरातमा उठाएर हिंडाउने कुरा नागरिक अधिकार विपरितको कुरा हो ।’
राजनीतिक पूर्वाग्रह राखेर नै अझै रविलाई सरकारले धेरै जिल्ला घुमाउने तयारी गरेको उनले बताए । ‘हामीले न्यायिक प्रक्रिया रोक्न खोजका होइनौं, यो प्रक्रिया गलत छ,’ उनले भने ।
पुनले कालो धनलाई सेतो बनाउन सहकारी दुरुपयोग भएको भन्दै बचत तथा ऋण सहकारीहरू नियमन गर्ने अधिकार सम्मन्न निकाय गठन हुनुपर्ने पनि बताएका छन ।