लाजिम्पाट घटनामा मनाङेका स्वकीय सचिवको ‘कनेक्सन’

काठमाण्डु टुडे २०८१ पुष १५ गते १३:३९ मा प्रकाशित

काठमाण्डु, १५ पुस– काठमाण्डुको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रम लामालाई आक्रमण गरेको घटनामा गुन्डा नाइके दीपक मनाङेका स्वकीय सचिव टिकाराम भण्डारीको संलग्नता रहेको खुलेको छ ।

गएको ११ कार्तिकमा घरजग्गा व्यवसायी ३५ वर्षीय लामामाथि आक्रमण भयो । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने लामालाई आक्रमण गर्ने समूहसँग ‘कनेक्सन’ देखिएपछि भण्डारीलाई पक्राउ गरिएको काठमाण्डुको एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन ।

सिन्धुली घर भएका भण्डारी काठमाण्डुको फुटुङस्थित थापा चोकबाट शनिवार साँझ पक्राउ परेका हुन् । उनीविरुद्ध काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

काठमाण्डु एसएसपी रजौरे भन्छन्– ‘प्रारम्भिक अनुसन्धानबाट घटनामा भण्डारीको कनेक्सन देखिन्छ, थप अनुसन्धान गर्दैछौँ ।’सो घटनामा संलग्न आरोपमा यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल र निश्चल सुनार पक्राउ परेका थिए । उनीहरुविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । ४ जना मिलेर इनोभा अस्पतालको पार्किङमा विक्रम लामामाथि रड प्रहार गरेर निर्घात कुटपिट गरेको सीसीटिभी फुटेजमा देखिन्छ ।

आक्रमण गर्ने मध्येका २ जना फरार छन् । आक्रमणमा संलग्न अजय लामा, र दीपक बरामु फरार छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नुवाकोट घर भएका अजय लामाले नेतृत्व गरेर विक्रमलाई आक्रमण गरेको खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us