देश बनाउने पार्टी एमाले मात्रै हो, सबै एमालेमा आउनुस्ः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ पुष १४ गते १९:०८ मा प्रकाशित

काठमाण्डु, १४ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र जनताको जीवनस्तरमा परिवर्तन गर्न एमाले मात्रै सक्षम भएको बताएका छन ।

आज (आइतबार) पर्साको सखुवा प्रसौनीमा आयोजित बृहत् पार्टी प्रवेश र जनसभा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले सबैलाई एमालेमा आबद्ध हुन आग्रह पनि गरेका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘देश बनाउने पार्टी एमाले मात्रै हो र अरु दलका नेताहरुले केवल संविधानका धाराको राजनीति गरेर जनतालाई अलमल्याएका छन्। हामी उत्पादन र उद्यमशीलतालाई प्राथमिकता दिंदै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन क्रान्तिकारी काम गर्दैछौं। अब तर्क गर्ने समय छैन, व्यवहारले सबै कुरा पुष्टि भइसकेको छ। त्यसैले सबैले एमालेमा आउनुस् ।’

प्रधानमन्त्री ओलीले मधेस प्रदेशको विकासका लागि आफू सरकारमा हुँदा थालनी भएका योजना पुनः तीव्र रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

उनले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता प्रवर्द्धन, कृषि उत्पादन वृद्धि, र जनताको आय बढाउने काममा एमाले नेतृत्वको सरकारले विशेष प्राथमिकता दिएको बताएका छन ।

प्रधानमन्त्रीले पर्साको पोखरियास्थित नगर अस्पतालको स्तरोन्नति, नापी तथा मालपोत कार्यालय सेवा केन्द्र स्थापना, र चाँडै इलाका प्रशासन कार्यालयको स्थापनासँगै स्थानीय जनताको आवश्यकताअनुसार विकासका काम अघि बढिरहेको जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us