काठमाण्डु, १० पुस– प्रहरीले मोरङको कटहरी गाउँपालिका९२ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १ जना भारतीय नागरिक पनि रहेको मोरङ प्रहरीले जानकारी दिएको छ । मंगलबार मोरङको जहदा गाउँपालिका–३ की २३ वर्षीय महिला घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपालिका–२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा भेटिएकी थिइन ।
अचेत अवस्थामा भेटिएर उद्धार गरिएकी महिलाको बयानका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले जानकारी दिएका छन । मंगलबार दिउँसो पराल लिन गएकी महिलाले हातखुट्टा बाँधेको अवस्थामा ती महिलालाई भेटेपछि प्रहरीलाई खबर पुगेको थियो । स्थानीयको सहयोगमा प्रहरीले महिलाको उद्धार गरी कोशी अस्पताल भर्ना गरेको थियो । महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।