संसदमा पनि कांग्रेस–एमालेको संयुक्त कार्यदल गठन

काठमाण्डु टुडे २०८१ पुष १० गते १३:१२ मा प्रकाशित

काठमाण्डु, १० पुस– सत्ताका प्रमुख घटक दल कांग्रेस र एमालेले संसदमा पनि संयुक्त कार्यदल गठन गरेका छन् । संसदको सञ्चालन र त्यहाँ छलफल गरिने विजनेसबारे सहजीकरण गर्नेगरी संयुक्त कार्यदल गठन गरीएको एमाले सचिव एवं संसदीय मामिला विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिएका छन ।

एमाले सचिव भट्टराईल भने, ‘विचाराधीन अवस्थामा रहेका सबै विधेयक पारित गर्ने वातावरण बनाउनेगरी हामीले कार्यदल बनाएका हौं, ‘यो कार्यदलले विचाराधीन विधेयकहरुमाथि संसदमा छलफल गर्ने, सहमति नजुटेका विषयलाई शीर्ष तहमै छलफल चलउने, संसदमा भएका अरु दलहरुसँग छलफल गर्ने जस्ता काम गर्नेछ ।’

कार्यदलमा दुवै दलका संसदीय मामिला विभाग प्रमुख, प्रतिनिधि सभाका प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका प्रमुख सचेतक रहनेछन् । कांग्रेसमा संसदीय मामिला विभाग प्रमुख जीवन परियार छन् भने एमालेमा योगेश भट्टराई छन् ।

संसदीय फाँटको काममा सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाउने निर्णय भएको आजको छलफलमा दुवै दलका दोस्रो तहका नेताहरु सहभागी थिए ।

यो छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रममन्त्री आरजु राणा देउवा थिए भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us