ललितपुर हत्या प्रकरणः पक्राउ परेका एक जना रिहा, २ जनामाथि अनुसन्धान जारी

काठमाण्डु टुडे २०८१ पुष १० गते १३:०६ मा प्रकाशित

काठमाण्डु, १० पुस– हिजो मंगलबार ललितपुरमा च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ ।

सुनसरीको इटहरी घर भइ सातदोबाटो बस्दै आएका २३ वर्षीय नयन गुरुङको हत्या आरोपमा पक्राउ परेकामध्ये दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले रिहा गरीएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

गुरुङको हत्या आरोपमा प्रहरीले भट्टसहित तीन जनालाई पक्राउ गरेको थियो । तर, प्रारम्भिक अनुसन्धानकै क्रममा पदमलालको संलग्नता नखुलेपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिएका छन ।

अहिले डडेलधुराको पर्शुराम नगरपालिका–११ घर भइ ललितपुर महानगरपालिका–९ च्यासलस्थित टद टाउन क्याफेको काउन्टरमा काम गर्ने २६ वर्षीय हेमराज भट्ट र काभ्रेको मण्डनदेउपुर नगरपालिका-११ घर भइ सोही क्याफेमा काम गर्ने जनकबहादुर तामाङलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरू मध्ये हेमराज भट्टले चक्कु प्रहार गरेको जनाइएको छ । बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us